हिविस्कस क्विज मेनिया सिजन–४ काे पत्रकार सम्मलेन

हिविस्कस क्विज मेनिया सिजन-४ को तयारी पूरा, कोशी प्रदेशका ४४ विद्यालय सहभागी धरान, ७ पुष – कोशी प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिता हिविस्कस क्विज मेनिया सिजन–४ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
धरान–१५ स्थित हिविस्कस इङ्लिस बोर्डिङ स्कुलको व्यवस्थापनमा शिवगंगा टोल विकास संस्था तथा हिविस्कस बाल क्लब, धरान–१५को सहआयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताबारे शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।
हाजिरी जवाफ प्रतियोगिता व्यवस्थापन समितिका संयोजक सुवास मोक्तानका अनुसार प्रतियोगितामा कोशी प्रदेशका ४४ वटा सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहनेछ। सहभागी विद्यालयमध्ये धरान उपमहानगरपालिकाबाट २८, इटहरी उपमहानगरपालिकाबाट ६, मोरङ जिल्लाबाट ३, बराहक्षेत्र नगरपालिकाबाट ४, रामधुनी नगरपालिकाबाट १ तथा इनरुवा नगरपालिकाबाट २ विद्यालय रहेका छन्।
प्रतियोगितालाई अझ प्रभावकारी र समावेशी बनाउन यस वर्ष भाग लिन चाहने जुनसुकै विद्यालयलाई पनि अवसर खुला गरिएको हिविस्कस इङ्लिस बोर्डिङ स्कुलका निर्देशक गंगाराम राईले बताए।
उनका अनुसार खरीदार तहको सिलेबसका आधारमा प्रश्नपत्र तयार गरिने भएकाले प्रतियोगितामा विजेता तथा उपविजेता टोलीमा लोकसेवा आयोग उत्तीर्ण गर्न सक्ने स्तरको ज्ञान र क्षमता विकास हुने आयोजकको विश्वास छ।
प्रतियोगिताको पहिलो चरणबाट छनोट भएका ६ टोलीले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्। फाइनलमा प्रथम हुने टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने टोलीले नगद १५ हजार, मेडल र प्रमाणपत्र, तेस्रो हुने टोलीले नगद ८ हजार र प्रमाणपत्र, चौथो हुने टोलीले नगद ६ हजार र प्रमाणपत्र, पाँचौँ हुने टोलीले नगद ४ हजार र प्रमाणपत्र तथा सान्तवना टोलीले नगद २ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन्।
शैक्षिक प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको हिविस्कस क्विज मेनियालाई हिविस्कस स्कुलले आफ्नो पहिचान र ब्रान्डका रूपमा स्थापित गर्दै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *